बिहार चुनावको हवाला दिँदै भारतीय प्रहरी SSB द्वारा महोत्तरी सीमामा कडाई, आम उपभोक्ता सास्तीमा

महोत्तरी टुडे     

नरेन्द्र महतो- महोत्तरी, सम्सी

भारत–नेपाल सीमा अन्तर्गत महोत्तरीको सम्सी कन्हवा नाकामा भारतीय सशस्त्र सीमा बल (SSB) द्वारा कडाई बढाइएको छ। विशेष गरी दशैं सकिएर अब आउने दीपावली र छठ पर्वको मुखमा यो कडाईले आम उपभोक्ताहरूलाई सास्ती दिएको छ।

 

सीमावर्ती स्थानीयहरूका अनुसार, विगतका वर्षहरूमा पनि बिहारमा चुनावका बेला तीन दिनसम्म नाका बन्द गरिन्थ्यो, तर सामान्य सोधपुछपछि सर्वसाधारणलाई आवागमन गर्न दिइन्थ्यो। तर यसपालि भने नाकामा पूर्ण कडाई गरिएको र मानिस तथा सवारी आवागमनमा कठिनाइ भएको स्थानीयले बताएका छन्।

 

भारतको बिहारमा आगामी ६ र ११ नोभेम्बरमा विधानसभा चुनाव हुने र अन्तिम नतिजा १४ नोभेम्बरमा सार्वजनिक हुने कार्यक्रम रहेको छ। यसै चुनावलाई कारण देखाउँदै भारतीय पक्षले कडाई गरेको जनाएको छ।

 

नेपालतर्फका सुरक्षाकर्मीहरूका अनुसार पनि भारतीय पक्षबाटै आवागमनमा निगरानी बढाइएको छ। यस सम्बन्धमा सम्सी नाका सशस्त्र प्रहरी निरीक्षक रोशन ठकुरीले भने,

 “हामीलाई भारतीय पक्षले जानकारी दिएको छ कि बिहारमा चुनाव हुने भएकाले सुरक्षाका कारण कडाई गरिएको हो।”

 

तर सीमावर्ती व्यापारी र सर्वसाधारण भने असन्तुष्ट छन्। उनीहरूको भनाइमा, दशैंपछि दीपावली र छठजस्ता महत्वपूर्ण पर्व आउँदै गर्दा दैनिक उपभोग्य सामग्री, कपडा, मिठाई र पूजाका सामानहरू किनमेल गर्न कठिनाइ भएको छ।

 

स्थानीयवासीहरू भन्छन्,

“विगतमा पनि चुनाव हुन्थ्यो तर यस्तो लामो समयसम्म नाकाबन्दी हुँदैनथ्यो, यसपालि अत्यधिक कडाईले हामीजस्ता साना व्यापारी र उपभोक्तालाई मार परेको छ।”

 

 

 

सीमामा बढ्दो कडाई र राजनीतिक कारणबीच नागरिकहरू दैनिक जीवनयापन र पर्व तयारीमा पर्ने अवरोधप्रति चिन्तित देखिन्छन्।