गौशालामा अविरल वर्षाले व्यापक डुवान, सयौं घर प्रभावित – स्थानीय सहायता माग्दै

महोत्तरी टुडे     

नरेन्द्र महतो, महोत्तरी गौशाला-

महोत्तरी, असोज २०– शनिबार र आइतबार दिनभरको अविरल वर्षाले महोत्तरीको गौशाला नगरपालिका र आसपासका ग्रामीण बस्तीहरू जलमग्न बनेका छन्। लगातारको पानीका कारण सयौं घरहरूमा पानी पसेको छ र स्थानीयहरू ठूलो संकटमा परेका छन्।

 

विशेषगरी गौशाला–५ का बस्तीहरूमा ठूलो क्षति भएको छ। घरभित्र पानी पसेपछि स्थानीयवासीहरू रातभर छत र सुरक्षित स्थानमा बसेर रात बिताउन बाध्य भएका छन्।

गौशाला बजारको बीचमा रहेको बाटो र नालाहरू बन्द हुँदा अजय साहको मसला मिल, ब्रह्मस्थान नजिक मनोज साहको घर लगायतका दर्जनौं घरहरू पूर्ण रूपमा पानीमा डुबेका छन्।

 

सवरी कुटी क्षेत्र पनि पूर्ण रूपमा डुवानमा परेको छ। त्यहाँका घरहरूमा रहेका भाँडा, खाद्यान्न, मसला, तेल, नुन लगायतका सामग्रीहरू पानीसँगै बगेका छन्। स्थानीय पवित्रा देवी, सुरज भण्डारी र कौशिला देवीका घरमा कपडा, लत्ता र दैनिक प्रयोजनका वस्तुहरू समेत नष्ट भएका छन्।

 

पाेखरीहरूबाट माछा बग्दा लाखौंको क्षति भएको अनुमान गरिएको छ। स्थानीय माछा व्यवसायी रामबाबु ठाकुरले ठूलो आर्थिक क्षति भएको बताउँदै सरकारसँग तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्न माग गरेका छन्।

 

यसैबीच, इलाका प्रहरी कार्यालय गौशाला परिसरमा समेत पानी पसेको छ। दक्षिणपट्टिको पर्खाल भत्किएको र कार्यालय कक्षमा समेत पानी प्रवेश गरेको प्रहरीले जनाएको छ।

 

नगर अस्पताल, सुन्दरनगर क्षेत्र, तथा गौशाला–५ देखि पूर्व–पश्चिमका अधिकांश वस्तीहरू पनि डुवानमा परेका छन्। गौरु बजार र पुलबीचको क्षेत्र समेत जलमग्न बनेको छ।

 

स्थानीयवासीहरूले डुवानका कारण दैनिक जीवन ठप्प बनेको बताउँदै नगरपालिका र विपद् व्यवस्थापन कार्यालयलाई तत्काल उद्धार तथा राहतका लागि ध्यानाकर्षण गराएका छन्। उनीहरूले खानेपानी, खाना, लत्ताकपडा र अस्थायी आवासको तत्काल व्यवस्था गर्न आग्रह गरेका छन्।