सम्सीमा धार्मिक सौहार्द र सामाजिक एकताको सशक्त सन्देश


महोत्तरी, सम्सी– शुक्रबार सम्पन्न दुर्गा विसर्जन कार्यक्रममा वडा नं. ६ र ७ का हिन्दु–मुस्लिम जनप्रतिनिधि तथा समाजसेवी महानुभावहरूको उल्लेखनीय सहभागिताले धार्मिक सौहार्द र सामाजिक एकताको सशक्त सन्देश दिएको छ।
कार्यक्रममा वडा नं. ६ का अध्यक्ष शेख उमैद, वडा नं. ७ का अध्यक्ष राकेश कुमार यादव, मेलाका अध्यक्ष रामजीवन साह, युवा नेता राजेश कुमार यादव, गाउँपालिका प्रमुख रामनाथ यादव लगायत समाजिक अभियन्ता विजय यादव, मदन यादव, प्रमोद यादव, राकेश यादव, नेक मोहम्मद, इम्तियाज अहमद, तमन्ने आलम, सन्तोष चौधरी, सामिउल्लाह, मुमताज अहमद, सञ्जीव साह लगायतका प्रतिष्ठित व्यक्तिहरूको सक्रिय उपस्थिति रह्यो।
त्यसैगरी, स्थानीय समाजसेवी तथा अगुवा व्यक्तिहरू मो. अफताब आलम, रहीम मियाँ, फिरोज आलम, शम्भु साह, महेन्द्र यादव, मनोज चौधरी, रवीन्द्र साह, अजय कुमार यादव, असलम अन्सारी, सुरेन्द्र यादव, नासिर हुसेन, विकास यादव, अर्जुन साह लगायत दर्जनौँ युवाहरू पनि कार्यक्रममा सहभागी भएर धार्मिक मेलमिलापलाई बलियो सन्देश दिएका थिए।
सहभागी सबैले आ–आफ्ना धर्म, संस्कार र पर्वलाई सम्मानपूर्वक मनाउने प्रतिबद्धता व्यक्त गर्दै, समाजलाई चिढ्याउने वा विभाजन ल्याउने कुनै बाह्य शक्तिको प्रलोभनमा नपर्ने प्रतिज्ञा गरे। कार्यक्रममा सहभागी वक्ताहरूले हिन्दु–मुस्लिमबीचको ऐतिहासिक भाईचारा, सहिष्णुता र एकताको परम्परालाई अझ मजबुत बनाउन आग्रह गरे।
“हिन्दु–मुस्लिम दुवै समुदायले आपसी समझदारीका साथ पर्वहरू मनाउँदै आउँदा सामाजिक एकता अझ प्रगाढ बनेको छ। आगामी दिनमा पनि कसैले समाजलाई विभाजन गर्ने षड्यन्त्र रच्ने हो भने हामी सबै मिलेर त्यसलाई असफल पार्नेछौं,” गाउँपालिका प्रमुख रामनाथ यादवले भने।
यसैगरी, मुस्लिम समुदायका अगुवा इम्तियाजले भने “धर्म अलग–अलग भए पनि हाम्रो रगत, हाम्रो माटो र हाम्रो बन्धुत्व एउटै हो। समाजमा कहिल्यै वैमनस्य फैलिन नदिन हामी सबै जागरुक रहनुपर्छ।”
कार्यक्रमको समापनमा उपस्थित जनसमुदायले आपसी सद्भाव, प्रेम, भाईचारा र सहिष्णुताको प्रतिकका रूपमा दुर्गा विसर्जनमा सामूहिक सहभागिता जनाए।