फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तीमा ७० को मृत्यु

महोत्तरी टुडे     

मनिला,एजेन्सी-

फिलिपिन्सको मध्य भागस्थित सेबु प्रान्तमा म्याग्निच्युड ६.९ को शक्तिशाली भूकम्प गएपछि कम्तीमा ७० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। दर्जनौँ मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ।

 

स्थानीय समय अनुसार मंगलबार अपराह्न सेबु प्रान्तको उत्तरी क्षेत्रमा केन्द्रबिन्दु बनेर गएको भूकम्प समुद्री सतहदेखि करिब ५ किलोमिटर गहिराइमा गएको प्रारम्भिक विवरणमा उल्लेख छ। भूकम्पको झड्का सेबु शहरदेखि वरपरका गाउँ–नगरसम्म तीव्र रूपमा महसुस गरिएको थियो।

 

सडक, पुल, विद्युत् संरचना र आवासीय भवनहरू भत्किँदा ठूलो मात्रामा क्षति पुगेको बताइएको छ। विशेष गरी बोगो, मेडेलिन र सान रेमिजियो क्षेत्रमा दर्जनौँ घर भत्किएका कारण सर्वसाधारण बाहिर खुला ठाउँमा बस्न बाध्य भएका छन्।

 

सरकारी अधिकारीहरूका अनुसार उद्धार कार्यलाई प्राथमिकता दिइएको छ। सेना, प्रहरी, दमकल र स्वयंसेवकहरू मिलेर भग्नावशेषमा फसेकाहरूलाई निकाल्ने प्रयास भइरहेको छ। तर, लगातार परकम्प र क्षतिग्रस्त सडकहरूले उद्धारमा कठिनाइ भएको बताइएको छ।

 

प्रारम्भमा सुनामीको चेतावनी जारी गरिएको थियो, तर पछि जोखिम कम भएको भन्दै चेतावनी खारेज गरिएको छ। यद्यपि, स्थानीय जनतालाई सतर्क रहन आग्रह गरिएको छ।

 

हस्पिटलहरूमा घाइतेहरूको चाप अत्यधिक बढेको छ। कतिपय अस्पतालले क्षमताभन्दा धेरै बिरामी लिनुपरेपछि बाहिर अस्थायी शिविर स्थापना गरी उपचार भइरहेको छ। वर्षाका कारण उद्धार र उपचारमा थप समस्या आएको जनाइएको छ।

 

फिलिपिन्स भूकम्प र ज्वालामुखीको उच्च जोखिममा रहेको ‘प्यासिफिक रिङ अफ फायर’ क्षेत्रमा पर्दछ। यसअघि पनि त्यहाँ ठूला भूकम्पहरूबाट ठूलो जनधनको क्षति भइसकेको छ।