सम्सी नाकामा दशैं–तिहारको चहलपहल, उपभोक्तालाई सहज, व्यवसायमा कडाइ
नरेन्द्र महताे- गाैशाला
महोत्तरीको गौशाला बजारदेखि १५ किलोमिटर दक्षिणतर्फ पर्ने सम्सी गाउँपालिका नेपालको भारतसँगको खुला सीमा नाका हो।
यहाँ आवतजावतका लागि पासपोर्ट वा भिसाको आवश्यकता नपर्ने भएकाले सामान्यतया दुवै देशका नागरिक स्वतन्त्र रूपमा आवतजावत गर्छन्।

तर हाल विशेष चाडपर्वको समय भएकाले सिमानामा चहलपहल असाध्यै बढेको छ। नेपाली उपभोक्ताहरू भारतको कन्वाँ बजारबाट सिधै उपभोग्य सामग्री खरिद गरेर ल्याइरहेका छन्।
सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले सामान्य सोधपुछबाहेक कुनै रोकावट नगरी सामान ल्याउन दिइरहेको रामगोपाल-१ का एक उपभोक्ताले बताएका छन्।

यसबारेमा सम्सी नाकामा खटिएका सशस्त्र प्रहरीका निरीक्षक रोशन ठकुरीले चाडपर्वको समयमा उपभोक्तालाई कुनै किसिमको कठिनाइ नदिइएको जानकारी दिए।
“चाडपर्वमा हरेक घरलाई विभिन्न सामग्रीको आवश्यकता पर्छ, त्यसैले उपभोक्तालाई सहजता दिएको छौँ। तर व्यापार–व्यवसाय र परियोजनाका लागि ल्याइएका सामग्रीमा भने कडाइ गरिएको छ,” ठकुरीले भने।

उनका अनुसार भन्सार विनाका सामान नियन्त्रणमा लिनुअघि पनि प्रहरी सक्रिय छन्। “हाम्रा सुरक्षाकर्मी र म आफैँ रातदिन घुम्छु,” ठकुरीले बताए।
खुला नाका भएकाले केही अप्ठ्यारो स्थिति आउने भए पनि सुरक्षा व्यवस्थामा चार स्थानमा प्रहरी खटाइएको छ—नयाँ बसपार्क चोक, शंकर चोक, विच गाउँ र सम्सी बजारस्थित सहिद चोकमा प्रहरी ड्युटी हुने गरेको ठकुरीले जानकारी दिए।
