सम्सी प्रहरी चौकी अगाडि हिलो–पानी, प्रहरीलाई ड्युटीमा सास्ती

महोत्तरी टुडे     

नरेन्द्र महतो – गौशाला,

महोत्तरीको सम्सीस्थित प्रहरी चौकी अगाडिको बाटो लामो समयदेखि मर्मत नहुँदा प्रहरी र स्थानीयवासी दुबैलाई आवतजावतमा सास्ती भइरहेको छ। करिब तीन दशकअघि स्थापना भएको चौकी अगाडि वर्षौंदेखि माटो खनिनु, पानी जमिनु र हिलो सड्नु सामान्य दृश्य बनेको छ।

Messenger_creation_38959C37-CBE8-473D-9705-6C049F1CEB07.jpeg

बरसात सुरु भएसँगै बाटोमा पानी जमेर पोखरी जस्तै हुने गरेको छ। प्रहरीहरू ड्युटी सकेर चौकीमा फर्किँदा जुत्ता–कपडासहित भिज्ने, हिलोमा फस्ने र दुर्गन्धका कारण असहज महसुस गर्नुपर्ने अवस्था आएको छ। “कहिलेकाहीँ ड्युटी सकेर फर्किँदा हिलो–पानीमा डुबेर मुख धुनुपर्ने अवस्था आउँछ,” एक प्रहरी जवानले भने।

Messenger_creation_623E2FD0-C935-4C95-8E0B-99E6E96CDC18.jpeg

यसबाट प्रहरी मात्र नभई चौकी नजिकका स्थानीय बासिन्दा पनि उत्तिकै पीडित छन्। विद्यालय जाने विद्यार्थीदेखि लिएर चौकीतर्फ सेवा लिन आउने सर्वसाधारणसम्म हिलो–पानीकै बीचमा हिँड्न बाध्य छन्। सवारीसाधन गुडाउन अझै ठूलो चुनौती भएको उनीहरूको भनाइ छ।

Messenger_creation_4072D007-FC71-4CEB-AEA3-96466673DE2A.jpeg

यो समस्या समाधानका लागि विभिन्न व्यक्तिहरूले पटक–पटक आवाज उठाएका छन्। स्थानीय सञ्चारमाध्यमहरूले निरन्तर समाचार प्रकाशन गर्दै आए पनि गाउँपालिकाका जनप्रतिनिधिहरू भने बेवास्ता गरिरहेको स्थानीयवासीको गुनासो छ।

 

“हामीले धेरैपटक गाउँपालिकामा निवेदन दिएका छौँ, तर अहिलेसम्म कुनै पहल भएको छैन,” सम्सीका एक बासिन्दाले भने। उनका अनुसार गाउँपालिकाले विकासको नाममा बजेट खर्च गरे पनि प्रहरी चौकी अगाडिको बाटो मर्मत गर्नेतर्फ ध्यान दिएको छैन।

 

प्रहरी चौकी अगाडि नै यस्तो दुर्दशा हुँदा सुरक्षाकर्मीको मनोबलमा समेत असर परेको स्थानीयहरूको भनाइ छ। तत्काल सडक मर्मत र ढल निकासको व्यवस्था नभएसम्म समस्या झन् गम्भीर हुने चेतावनी उनीहरूले दिएका छन्।