खेश्राहामा भव्यताका साथ कलश यात्रा सम्पन्न, दुर्गा पूजामा बिशेष आकर्शण
धर्मेन्द्र कुमार यादव – महोत्तरी ।
महोत्तरी जिल्लाको सोनमा गाउँपालिका–४ खेश्राहामा असोज ६ गते भव्य कलश शोभा यात्रा सम्पन्न भएको छ। स्थानीय कन्याद्वारा नगर परिक्रमा गराउँदै कलश खेश्राहा बजारस्थित दुर्गा मन्दिरमा स्थापना गरिएको हो। यस अवसरमा श्रद्धालुहरूको ठूलो भीड देखिएको थियो।

सोनमा गाउँपालिकाभित्र एक मात्र दुर्गा पूजास्थल रहेको खेश्राहा दुर्गा मन्दिरमा परम्परानुसार घटस्थापनादेखि पूर्णिमासम्म विधिविधानका साथ पूजा–पाठ गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

कलश शोभा यात्रामा गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव र वडा अध्यक्ष मिठु रायको विशेष उपस्थिति रह्यो। दुबै जनप्रतिनिधिले दुर्गा पूजाले धार्मिक आस्था मात्र नभई गाउँको सांस्कृतिक एकतालाई समेत मजबुत बनाउने विश्वास व्यक्त गरे।

यसवर्षको दुर्गा पूजामा गाउँपालिकाबाट विशेष आर्थिक सहयोग गरिएको छ भने स्थानीयवासीहरूको सक्रियतामा भव्य मेला पनि सुरु गरिएको छ। मेलामा धार्मिक अनुष्ठानसँगै झिझिया, नाचगान, सांस्कृतिक प्रस्तुति, बालबालिकाका खेलकुदलगायतका कार्यक्रम रहनेछन्।
सुरक्षाको दृष्टिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी खटाइएको छ। गाउँपालिका अध्यक्ष यादवका अनुसार मेलामा आउने ठूलो भीडलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरू निरन्तर तैनाथ रहनेछन्।
स्थानीय बासिन्दाले दुर्गा पूजालाई गाउँकै सबैभन्दा ठूलो धार्मिक र सांस्कृतिक पर्वको रूपमा लिएको बताउँदै यसले गाउँमा एकता, उमंग र खुशी ल्याउने विश्वास व्यक्त गरेका छन्।
खेश्राहा दुर्गा पूजामा यसपालि पनि हजारौँ श्रद्धालुहरूको सहभागिता रहने अनुमान गरिएको छ।
