एनआरएनए कतारले ल्यायो कृत्रिम बुद्धिमत्ता सम्बन्धी विशेष सचेतना कार्यक्रम

महोत्तरी टुडे     

आशिक हुसैन शेख, दोहा, सेप्टेम्बर २२।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए) द्वारा आगामी २६ सेप्टेम्बर २०२५, शुक्रबार बेलुकी ६ बजे अल मतार सेन्टर, पुरानो एयरपोर्ट रोडमा “Shape Tomorrow Today: Master Artificial Intelligence” नामक सचेतना तालिम आयोजना हुने भएको छ।

 

संघको श्रमिक विभागले आयोजना गर्ने सो कार्यक्रममा ChatGPT प्रयोग, ईमेल लेखन, छवि निर्माण, समय बचतका उपाय तथा कृत्रिम बुद्धिमत्तालाई ‘भर्चुअल ब्रेन’ का रूपमा उपयोग गर्ने तरिका सम्बन्धी प्राविधिक जानकारी दिइनेछ। सहभागीहरूले एआई प्रविधि प्रयोग गरेर कसरी आफ्नो कार्यलाई छिटो, सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने व्यावहारिक तालिम पाउने छन्।

 

एनआरएनए कतारले कतारमा रहेका सम्पूर्ण संघ–संस्था प्रमुखहरू, एनआरएन अभियान्ता, सामाजिक अभियान्ता, व्यवसायी, कलाकार, साहित्यकार, खेलाडी तथा पत्रकारसहित सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ।

 

सिट सीमित हुने भएकाले इच्छुक सहभागीले समयमै सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्न अनुरोध गरिएको छ। सम्पर्क व्यक्तिमा संघका तृतीय उपाध्यक्ष जहागिर आलम (मो. ७४४७ ६४००) तोकिएका छन्।

 

महासचिव बिबेक पुलामी मगरका अनुसार, यो कार्यक्रमले प्रवासी नेपाली समुदायलाई प्रविधि–मैत्री समाज निर्माणमा टेवा पुग्ने, श्रमिकलाई नयाँ सीप सिकाउने र विश्व प्रविधि विकाससँगै कदम मिलाउन प्रेरणा दिने विश्वास लिइएको छ। उनले भने, “प्रवासी नेपालीहरूले समयको मागअनुसार प्रविधिमा दक्ष बन्न आवश्यक छ। यो तालिमले उनीहरूलाई पेशागत र व्यक्तिगत जीवनमा उपयोगी हुने सीप प्रदान गर्नेछ।”

 

कार्यक्रमले कतारमा कार्यरत नेपाली युवालाई मात्र नभई विभिन्न पेशा, व्यवसाय र सामाजिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पनि प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ। विश्व बजारमा तीव्र रूपमा बढ्दै गएको एआई प्रयोगको पृष्ठभूमिमा यस्तो तालिमले नेपालीलाई अन्तर्राष्ट्रिय प्रविधि प्रतिस्पर्धामा सक्षम बनाउन सहयोग गर्ने आयोजकको विश्वास छ।

 

साथै, संघले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिँदै भविष्यमा अझ धेरै प्रविधिमूलक तालिमहरू सञ्चालन गर्ने योजनासमेत अघि सारेको छ।