प्रतिनिधिसभा विघटन हुने, सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बन्ने तयारी सुरु

महोत्तरी टुडे     

काठमाडौं ।

देशको राजनीतिक निकासका लागि प्रतिनिधिसभा विघटन गर्ने निर्णय अन्तिम चरणमा पुगेको छ। शीतलनिवास स्रोतका अनुसार पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीलाई आजै अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा नियुक्त गर्ने तयारी गरिएको छ।

 

शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल र कार्कीबीच भएको पहिलो छलफल सकारात्मक नबनेपछि प्रक्रिया केही ढिला भए पनि दिउँसो फेरि भएको भेटवार्ताले निर्णायक मोड लिएको बताइएको छ। छलफलमा अन्तरिम सरकारको संरचना, कार्यकाल र प्राथमिकतासम्बन्धी एजेन्डामा सहमति जुट्ने प्रयास भएको स्रोतको भनाइ छ।

 

अन्तरिम सरकार गठनका लागि प्रमुख दलका शीर्ष नेताहरूलाई पनि निरन्तर परामर्शमा राखिएको छ। संविधानको रक्षा गर्ने र निकास दिन सक्ने एकमात्र विकल्प अन्तरिम सरकार भएको धारणा साझा गरिएको छ।

 

शीतलनिवास स्रोतका अनुसार प्रतिनिधिसभा विघटन र सुशीला कार्कीको नियुक्ति सम्बन्धी आधिकारिक घोषणा आज बेलुकीसम्म सार्वजनिक गरिने सम्भावना प्रबल छ। यससँगै देश नयाँ राजनीतिक मोडमा प्रवेश गर्ने आकलन गरिएको छ।