चमेली माई मन्दिर अगाडि लागुऔषध सेवन, स्थानीय चिन्तित
सर्लाही — नवलपुर,मलंगवा सडकखण्ड अन्तर्गत सलेम्पुर नजिकै रहेको श्री चमेली माई मन्दिर परिसरमा लागुऔषध सेवन खुल्लामखुल्ला भइरहेको देखिएको छ।
दुई दिनअघि परिवारसहित मन्दिर दर्शन गर्न पुगेका समाजिक अभियन्ता सरोज रायका अनुसार मन्दिर अगाडिको चिया पसल पछाडि युवाहरूको जमघट थियो। कोही गाँजा काट्दै, कोही चुरोटमा मिसाउँदै, कोही सेवन गरिरहेका थिए। कतिपयले त कोकाको बोतललाई प्वाल पारेर हुक्का झैँ प्रयोग गरेको पनि देखियो।
स्थानीय पुजारी र बासिन्दाहरूले पनि प्रहरीकै मिलेमतोमा यस्तो गतिविधि भइरहेको जनविश्वास व्यक्त गरेका छन्।
“अत्यन्त शक्तिशाली मानिने देवीस्थान अगाडि भक्तजनभन्दा नशा सेवनकर्ताको भीड बढी हुनु दुखद हो। यसलाई नियन्त्रण नगरे समाजले ठूलो मूल्य चुकाउनुपर्नेछ,” रायले चेतावनी दिनुभयो।
अब यस विषयमा प्रहरी प्रशासन, स्थानीय समाज र सरोकारवालाहरूले गम्भीर ध्यान दिनुपर्ने आवश्यक देखिन्छ।
