जनकपुरमा हिन्दु–मुस्लिमबीच विवाद हुँदा, एक जना घाइते
धनुषा – शनिबार दिउँसो धनुषाको जनकपुर उपमहानगरपालिका–२०, झण्डा चोकमा हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन्।
दिउँसो करिब २ः२० बजे गणेशको मूर्ति विसर्जनको क्रममा हिन्दु पक्षका करिब २५०–३०० जना र मुस्लिम पक्षका करिब ५०–६० जना बीच भनाभन सुरु भई विवादमा परिणत भएको थियो। ढुङ्गामुढा समेत चलेपछि एक जना घाइते भएको जनाइएको छ।
स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले अतिरिक्त फोर्स परिचालन गरेको थियो भने सशस्त्र प्रहरीले समेत दुई राउन्ड ग्याँस सेल प्रहार गरेको हो। तत्कालै प्रस्तावित सीमा सुरक्षा गुल्म जटहीबाट खटाइएको सशस्त्र प्रहरीका करिब ७० जना सहित नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको जनाइएको छ।
सुरक्षाकर्मीको तत्कालीन उपस्थितिपछि अवस्था नियन्त्रणमा आएको भए पनि स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा पारेको छ। प्रहरीले दुवै पक्षलाई शान्त रहन आग्रह गरेको छ भने घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।
