जसपा सांसद सरोजसिंह कुशवाहाको निलम्बन फुकुवा

महोत्तरी टुडे     

महोत्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समिति सदस्य तथा मधेश प्रदेशका पूर्व राज्यमन्त्री सरोजसिंह कुशवाहाको प्रदेशसभा सदस्य निलम्बन फुकुवा भएको छ।

 

बिहीवार बसेको मधेश प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको निलम्बन फुकुवा भएको जानकारी दिएका हुन्।

 

गत जेठ २९ गते महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सांसद कुशवाहालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमिततामा संलग्न भएको आरोपमा पक्राउ गरेपछि उनको पद निलम्बनमा परेको थियो।

 

आयोगले मधेश सरकारले अघोषित रुपमा सांसदहरुलाई उपलब्ध गराउने भनिएको संसदीय विकास कोष सम्बन्धी योजनाको उपभोक्ता समिति गठनमा अनियमितता गरेको आरोप लगाउँदै उनलाई पक्राउ गरेको थियो। सो घटनाअघि, जेठ १२ गते आयोगको टोलीले कुशवाहाको निवासमा छापा मारेको थियो।

 

छापामारी क्रममा उनका स्वकीय सचिव विनोदलाल कर्णलाई नियन्त्रणमा लिइएको थियो भने योजनासम्बन्धी कागजात र मोबाइल फोन बरामद गरी डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको थियो।

 

निलम्बन फुकुवा भएसँगै सरोजसिंह कुशवाहा पुनः सक्रिय रुपमा मधेश प्रदेशसभामा सहभागी हुने भएका छन्।