एनआरएनए एनसीसी कतारको नयाँ कार्यसमितिद्वारा नेपाली राजदूतसँग विशेष भेटघाट
शियाराम यादव, भदौ १२ (दोहा, कतार)
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारको ११औँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले नेपाल राजदूतावास कतारमा महामहिम राजदूत रमेश चन्द्र पौडेलसँग विशेष भेटघाट गरेको छ।

नवनिर्वाचित अध्यक्ष पदम गिरीको नेतृत्वमा पुगेको टोलीमा आईसीसी सदस्य, मानार्थ सदस्य तथा पूर्व अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय सल्लाहकार कमलमणि गुरागाईलगायत सहभागी थिए।

भेटका क्रममा अध्यक्ष गिरीले संस्थागत एकताको महत्वलाई जोड दिँदै भने,
“हामी प्रतिस्पर्धा गरेर आएका होइनौँ। केन्द्रले देखाएको बाटो पछ्याउँदै संसारभर स्थापित एनसीसीहरू सरह कतारमा पनि अघि बढ्नेछौँ।”
त्यसैगरी उनले दूतावाससँगको विगतको सहकार्यलाई स्मरण गर्दै श्रमिक समस्यामा अझ सहज सहयोग गर्न आग्रह गरे।

राजदूत पौडेलले नयाँ नेतृत्वलाई बधाई दिँदै जिम्मेवार ढंगले काम गर्न प्रेरित गरे। उनले केन्द्रस्तरमा देखिएको विवाद दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै भने,
“संस्थागत रूपमा विभाजन देखिए पनि मन विभाजन हुनु हुँदैन। सहकार्यको भावना राखियो भने सामाजिक मान्यताको उचाइ अझै बढ्नेछ।”
यस अवसरमा उनले हालै सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) सँगको सम्झौताबारे चर्चा गर्दै उक्त सम्झौता विशेषगरी मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकका लागि लाभदायक हुने विश्वास व्यक्त गरे।
