पाकिस्तानी आतंकवादी नेपाल हुँदै भारत प्रवेश गरेको भारतीय मिडियाको दाबी
नयाँ दिल्ली / काठमाडौं ।
भारतीय सञ्चारमाध्यमहरूले नेपालमार्ग हुँदै तीन जना पाकिस्तानी आतंकवादी भारत प्रवेश गरेको दाबी गरेका छन् । खबरअनुसार ती आतंकवादीहरू नेपालको विभिन्न नाकाबाट बिहार हुँदै भारत छिरेका बताइएको छ ।
भारतीय मिडियाले सुरक्षा एजेन्सीहरूलाई उद्धृत गर्दै संवेदनशील राज्यहरूमा उच्च सतर्कता अपनाइएको उल्लेख गरेका छन् । बिहार हुँदै दिल्ली र उत्तर प्रदेशसम्म सुरक्षा कडाइ गरिएको बताइन्छ ।
तर यसबारेमा नेपाल सरकार वा नेपाल प्रहरीको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । नेपाल–भारत खुला सीमा भएकाले यस्तो खालका समाचार समय–समयमा चर्चामा आउने गरेको भए पनि यथार्थता पुष्टि हुन कठिन हुने विज्ञहरूको भनाइ छ ।
सुरक्षा विश्लेषकहरूले प्रमाणबिनाको रिपोर्टले दुई देशबीचको विश्वासमा असर पार्ने चेतावनी दिएका छन् । नेपालमा आन्तरिक सुरक्षा निकाय भने सतर्क रहेको स्रोतले जनाएको छ ।
