बारामा शिक्षक कुटपिट प्रकरण,मदिरा सेवन गरेका वडाध्यक्ष पक्राउ, पार्टीबाट निलम्बन
महोत्तरी टुडे डेस्क बारा ।
बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहालाई एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहा र उनको समूहले वडा कार्यालयमै अर्धनग्न बनाई हातखुट्टा बाँधेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि घटना चर्चामा आएको हो ।
घटना साउन २८ गतेको हो । यादवको भनाइअनुसार, परीक्षा अभ्यासका लागि प्रश्नपत्रको फोटोकपी गराइरहेको बेला केही व्यक्तिहरूले आफूलाई समातेपछि वडा कार्यालयमा लगेका थिए । त्यहाँ वडाध्यक्ष कुशवाहाले नलकटुवा देखाएर धम्की दिँदै अर्धनग्न बनाएर कुटपिट गरेका थिए ।
"३/४ पटक लात–घुँसा हाने, हातखुट्टा बाँधेर निरन्तर कुटपिट गरे, जबरजस्ती कागजमा औंठाछाप र हस्ताक्षर गराए," पीडित यादवले बताए । उनका अनुसार त्यसबेला वडाध्यक्षसहित आठ जनाले मदिरा सेवन गरिरहेका थिए ।
पीडितको जाहेरीका आधारमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दामा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रसौनी गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले समेत प्रहरीमा जाहेरी परेपछि वडाध्यक्षलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।
उता, नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष कुशवाहालाई पार्टीले घटनापछि ६ महिनाका लागि निलम्बन गरेको छ ।
