वीरगञ्जमा हैजा संक्रमण फैलियो: महानगरपालिकाले विद्यालय बन्द र स्ट्रिट फूडमा रोक लगायो

महोत्तरी टुडे     

वीरगञ्ज, पर्सा – वीरगञ्जमा फैलिरहेको हैजा संक्रमण नियन्त्रणका लागि केन्द्र र प्रदेश सरकारसँगसहित स्थानीय निकायहरूले तीव्र कदम चालेका छन्। हालसम्म ४२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।

FB_IMG_1756010345084.jpg

स्वास्थ्य जोखिम न्यूनीकरणका लागि वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय पर्सा, स्वास्थ्य कार्यालय पर्सा, मधेस प्रदेश सरकार र सङ्घीय खानेपानी मन्त्रालय सक्रिय भएका छन्।

 

महानगरपालिकाले भदौ ८ र ९ गतेका लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। साथै, पानीपुरी, चाट, चटपटेजस्ता स्ट्रिट फूडको बिक्री वितरणमा पूर्ण रोक लगाइएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार, सडकमा पाइने खाद्यपदार्थमा दूषित पानी प्रयोग हुने सम्भावनाले हैजाको जोखिम बढाउने भएकाले रोक लगाइएको हो।

FB_IMG_1756010341566.jpg

मेयर राजेशमान सिंहले सबै अस्पताल प्रतिनिधिसँग आकस्मिक बैठक गरी बिरामीको उपचारमा कुनै कमी नहोस् भन्ने सुनिश्चित गरेका छन्। मेयर सिंहले भने,

"कुनै पनि बिरामी शय्या अभावमा उपचारबाट वञ्चित भएको सुन्न नपरोस्। यो सङ्कटको घडीमा अस्पताल र चिकित्सकहरूले मानवीयता देखाउनुपर्छ।"

 

महानगरले प्रभावित क्षेत्रमा २५ टोली स्वास्थ्यकर्मी परिचालन गरेको छ। टोलीले घर–घर पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र बिरामीलाई अस्पताल ल्याउने काम गर्दैछन्। साथै, वीरगञ्ज नर्सिङ क्याम्पसका विद्यार्थीहरूलाई पनि सचेतना अभियानमा खटाइएको छ। हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरिएको छ भने मेयर सिंहले नारायणी अस्पतालको अवस्था पनि प्रत्यक्ष अवलोकन गरेका छन्।