नेपाली महिला समाज कतारद्वारा भव्य तीज कार्यक्रम सम्पन्न
आशिक हुसेन शेख दोहा (कतार), २३ अगस्ट – नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीज यसपटक पनि प्रवासमा बसेका नेपाली चेलीहरूले नेपालमै जस्तै उल्लास र उमंगका साथ मनाएका छन्। यसै अवसरमा नेपाली महिला समाज कतारले आयोजना गरेको “रमाइलो तीज सचेतना तथा सांस्कृतिक कार्यक्रम” कतारको “मुन्तजा स्थित होटेल होलिडे विलाको सभाहलमा भव्यताका साथ सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष माया केसीले गर्नुभएको थियो भने प्रमुख आतिथ्यतामा कतारस्थित नेपाली राजदूत महामहिम रमेशचन्द्र पौडेल उपस्थित रहनुभएको थियो। साथै आईसीसी, एनसीसीका पदाधिकारी, कतारमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार तथा ठूलो संख्यामा महिला दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रवासमा रहेका नेपाली महिलाहरू रंगीचंगी पहिरन र गरगहना धारण गरी कार्यक्रममा सहभागी भएका थिए। विशेष आकर्षणका रूपमा नेपालबाट आएका चर्चित लोकदोहोरी गायिकाद्वय टिका पुन र रेजिना परियारले प्रस्तुत गरेका तीजका गीतहरूले उपस्थित महिला दिदीबहिनीहरूलाई नचाउन सफल भए। पुन र परियारले गाएका गीतमा दर्शकदीर्घा मात्र होइन, स्टेज नै महिलाहरूले भरिँदै नेपालकै झल्को दिने माहोल सिर्जना भएको थियो।
विधिवत उद्घाटनसहित सुरु भएको कार्यक्रमलाई संस्थाकी प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्ध्या अर्यालले स्वागत मन्तव्यद्वारा प्रारम्भ गर्नुभएको थियो। कार्यक्रममा संस्थाकी प्रवक्ता तथा संयोजक शारदा भुजेल र महासचिव मेनुका खतिवडा भण्डारीले सहजीकरण गर्नुभएको थियो।
समापन भाषणमा सभापति माया केसीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई NIC Asia Bank र Machhapuchhre Bank लगायतका प्रायोजक संस्थाहरूले सहयोग गरेका थिए।
