सोनमा गाउँपालिकाका बिधार्थी सम्मानित

महोत्तरी टुडे     

धर्मेन्द्र कुमार यादव-महोत्तरी, सोनमा।

सोनमा गाउँपालिका–६ सुन्दरपुरस्थित श्री जनता माध्यमिक विद्यालयका दुईजना प्रतिभाशाली विद्यार्थीहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उत्कृष्ट नतिजा हासिल गरी विद्यालय, गाउँपालिका र जिल्लाको गौरव बढाएका छन्।

 

विद्यालयका छात्र आदित्य अधिकारीले ३.९६ GPA ल्याउँदै जिल्लाकै उत्कृष्ट छात्र बन्न सफल भएका छन् भने छात्रा अभिनिकी कुमारीले ३.५४ GPA ल्याएर विद्यालयकै उत्कृष्ट छात्रा बनेकी छन्।

 

 

उत्कृष्ट नतिजा ल्याउने यी विद्यार्थीलाई शिक्षा तथा संस्कृति मन्त्रालयले विशेष कार्यक्रमका बीच सम्मानपत्र र एक–एक थान साइकल प्रदान गरी सम्मान गरेको हो।

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा मन्त्री रानी शर्मा तिवारीले भनिन् :

 

“सोनमा गाउँपालिकाका विद्यार्थीहरूले देखाएको शैक्षिक लगनशीलता र उपलब्धि साँच्चै प्रशंसनीय छ। यो उपलब्धि विद्यार्थी मात्र नभई सम्पूर्ण गाउँपालिकाको गर्व हो। यसका लागि गाउँपालिकाको निरन्तर प्रयास र विद्यालय परिवारको योगदान महत्वपूर्ण छ। मन्त्रालयको तर्फबाट हामी सोनमा गाउँपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।”

 

 

त्यसैगरी, सोनमा गाउँपालिकाका अध्यक्ष बिशेश्वर प्रसाद यादवले भने :

 

“गाउँपालिकाको शिक्षा शाखाले निरन्तर रूपमा विद्यार्थीलाई गुणस्तरीय शिक्षामा प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यही योजनाबद्ध कामको परिणामस्वरूप आज हाम्रो गाउँपालिकाका विद्यार्थी जिल्लामै उत्कृष्ट बन्न सफल भएका छन्। यो उपलब्धि सम्पूर्ण सोनमा गाउँपालिकाको गौरव हो।”

 

 

यस अवसरमा सोनमा गाउँपालिकाले शिक्षा मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरूको सफलताले गाउँपालिकाको शैक्षिक प्रतिष्ठा उच्च बनाएको टिप्पणी गरेको छ। गाउँपालिकाले यस्ता सम्मानले विद्यार्थीहरूमा अध्ययनप्रतिको उत्साह बढाउने र गुणस्तरीय शिक्षा प्रवर्द्धनमा सहयोग गर्ने विश्वास व्यक्त गरेको छ।

 

 

विद्यालयका प्र. अ. ले विद्यार्थीहरूको मेहनत, शिक्षक–शिक्षिकाको मार्गदर्शन र अभिभावकहरूको सहयोगकै कारण विद्यालयले निरन्तर राम्रो नतिजा दिइरहेको बताए।