जनकपुरमा पिडित यादवका परिवारलाई ‘मधेश युवा संघ’ कतारद्वारा रु. ९५,१०५/- आर्थिक सहयोग
महोत्तरी टुडे डेस्क जनकपुरधाम, २०८२ भदौ २ गते सोमबार।
श्रीकृष्ण जन्माष्टमीको पावन पर्वको अवसरमा धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका–२३ बिन्ही गाउँ निवासी स्व. अंशु यादवकी आमा फेकनी देवी यादवलाई ‘मधेश युवा संघ’ कतारले नगद रु. ९५,१०५/- (पन्चानब्बे हजार एक सय पाँच रूपैयाँ) आर्थिक सहयोग प्रदान गरेको छ।
वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत मधेशी दाजुभाइहरूले संकलन गरेको सो सहयोग रकम स्थानीय युवा बालबोध यादवको पहलमा पिडित परिवारलाई हस्तान्तरण गरिएको हो।
सहयोग रकम पिडित परिवारकै घरमा पुगेर मधेश युवा संघ नेपालका अध्यक्ष सुरेन्द्र सुर्या महतो, समाजसेवी शम्भु चौधरी, सत्यनारायण साह तथा I LOVE MITHILA TEAM का सञ्चालक अरुण बिजैया, ईशिका भुजेल र अभिनाश झा (कलकतियाबाली) लगायतले हस्तान्तरण गरेका थिए।
आर्थिक सहयोग ग्रहण गर्दै पीडित फेकनी देवी यादवले यस कार्यमा अमूल्य समय दिई सहभागी भएका अतिथिहरु, स्थानीय I LOVE MITHILA TEAM, सहयोगी सबै दाजुभाइ र मधेश युवा संघ कतार संस्था अध्यक्ष प्रताप साह लगायतका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु लाई हार्दिक आभार व्यक्त गरेकी छन्।
