प्रधानमन्त्री ओलीद्वारा सोनमा–तरहरी–सुन्दरपुर सडकको शिलान्यास, पूर्वाधार र खडेरी राहतका मागसहित ज्ञापनपत्र बुझाइयो

महोत्तरी टुडे     

धर्मेन्द्र कुमार यादव-महोत्तरी, श्रावण ३० — मधेश प्रदेशको महोत्तरी जिल्लास्थित सोनमा गाउँपालिकामा शुक्रवार एक विशेष समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले रघुनाथपुर–तरहरी–सुन्दरपुर सडक निर्माण कार्यको शिलान्यास गर्नुभयो। करिब ११ किलोमिटर लामो सो सडकले सोनमा गाउँपालिकाको ग्रामीण बस्तीलाई प्रदेश र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने अपेक्षा गरिएको छ।

Messenger_creation_B93F2BA5-F529-4016-9CB6-780B937F4514.jpeg

 

कार्यक्रममा गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवले प्रधानमन्त्रीलाई ऐतिहासिक आगमनमा हार्दिक स्वागत गर्दै पूर्वाधार विकास, खडेरी पीडित राहत, र मधेशी जनताको न्याय सम्बन्धी मागसहितको ५ बुँदे ज्ञापनपत्र हस्तान्तरण गर्नुभयो।

 

 

ज्ञापनपत्रमा हालैको खडेरीका कारण करिब ७०० हेक्टर बाली पूर्णरूपमा नष्ट भई ५ हजारभन्दा बढी कृषक प्रत्यक्ष प्रभावित भएको र प्रारम्भिक अनुमान अनुसार १०–१२ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको उल्लेख छ। यसका लागि तत्कालीन राहत वितरण, सिँचाइ सुविधा विस्तार, वैकल्पिक रोजगारी कार्यक्रम सञ्चालन, दाना–चारा र पशुपालन व्यवस्थापनको माग गरिएको छ।

Messenger_creation_67939C65-2D09-4EF9-8813-716C27DA4A0B.jpeg

 

त्यससँगै, मधेश आन्दोलनका क्रममा मुद्दा परेका नेता–कार्यकर्तामाथिको राजनीतिक मुद्दा फिर्ता लिन, पूर्व सांसद कौशल कुमार यादव सहित कैदमा रहेका अभियुक्तलाई रिहा गर्न, र मधेशी जनताको जायज माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ।

 

 

ज्ञापनपत्रमा सडक निर्माणसँगै तरहरी देखि मगरथाना जाने बाटोमा पक्की पुल, खेश्राहा बजार देखि कतर्वा जाने बाटोमा पक्की पुल, मगरथाना देखि हरिपुर्वा जोड्ने हर्दी नदीमा पक्की पुल निर्माण तथा बाबा मंगलनाथ मन्दिर र गेउरका मन्दिरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कुरा माग गरिएको छ ।

 

 

अध्यक्ष यादवले भने, "प्रधानमन्त्रीज्यूको यो भ्रमण सोनमा गाउँपालिकाको विकासका लागि ऐतिहासिक अवसर हो। सडक, पुल, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रमा प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण हुनु हाम्रो लागि ठूलो उपलब्धि हुनेछ।"

 

 

प्रधानमन्त्री ओलीले स्थानीय प्रतिनिधिहरूका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै विकास निर्माणलाई द्रुत गतिमा अघि बढाउने आश्वासन दिनुभयो। उहाँले सडक निर्माणले स्थानीयको आर्थिक गतिविधि र जीवनस्तरमा ठुलो सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो।

 

 

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, सुरक्षाकर्मी, किसान, व्यापारी, महिला समूह र सर्वसाधारणको बाक्लो उपस्थिति थियो।