प्रवासी नेपाली एकता मञ्च कतारले हरितालिका तीज भव्य रूपमा मनाउने
दोहा (कतार) — प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज यस वर्ष भव्य रूपमा मनाउने भएको छ। आगामी शुक्रवार, १५ अगस्ट २०२५ (साउन २६, २०८२) बिहान ११ बजेदेखि नाज्मा स्थित क्राउनप्लाजा होटलको सभाहलमा कार्यक्रम आयोजना हुने भएको हो।
हरितालिका तीजको अवसरमा स्थानीय कलाकारहरूको विशेष सांस्कृतिक प्रस्तुति, तीज गीत–नृत्य तथा शुभकामना आदान–प्रदानमार्फत पर्व मनाइने मञ्चका अध्यक्ष मुक्तदा मुसलमानले जानकारी दिए।
मञ्चका सचिव रुप रानाभाटका अनुसार, हरेक वर्ष नेपालबाट कलाकारहरूलाई आमन्त्रित गर्दै तीज मनाउने परम्परा रहेपनि, यसपटक कतारमै रहेर नेपाली कला–संस्कृतिलाई जोगाउँदै, यहाँका उत्कृष्ट कलाकारहरूले तीजमय विशेष सांस्कृतिक प्रस्तुति दिनेछन्।
परदेशमा रहेका दिदीबहिनीलाई माइतिको जस्तै वातावरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा कतारमा क्रियाशील सम्पूर्ण वैचारिक तथा सामाजिक संघ–संस्था प्रमुखहरू, पत्रकार, व्यवसायी, कलाकार, साहित्यकार तथा कतारवासी सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई उपस्थित रहन आग्रह गरिएको छ।
