राहत शिक्षकको सुरक्षाका लागि मधेश प्रदेशस्तरीय बैठक जनकपुरधाममा सम्पन्न
धर्मेन्द्र कुमार यादव-महोत्तरी, साउन २१ – नेपाल राहत शिक्षक मधेश प्रदेश कार्य समितिको आयोजनामा जनकपुरधाममा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा प्रदेशस्तरीय पदाधिकारी, जिल्ला अध्यक्षहरू तथा केन्द्रीय सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकको आयोजनाको उद्देश्य हालका दिनमा राहत शिक्षकहरूका पेशागत सुरक्षालाई लिएर देखिएका समस्या, शिक्षा विधेयक, र अन्य नीतिगत विषयहरूमा छलफल गर्नु रहेको थियो। विभिन्न समयमा राहत शिक्षकहरूले आफ्नो हकहितका लागि आन्दोलन गर्दै आएका छन्, तर शिक्षा नीतिमा राहत शिक्षकलाई समेट्ने विषय अझै अन्योलमै रहेकाले बैठकले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ।

बैठकमा नेपाल राहत शिक्षक मधेश प्रदेशका अध्यक्ष गंगा यादव तथा उप महासचिव धर्मेन्द्र कुमार यादवले सहभागीहरूलाई सम्बोधन गर्दै राहत शिक्षकहरूको समग्र सुरक्षाका लागि एकजुट भएर दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए। बैठकको आयोजना नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यालय, भानु चौक जनकपुरधाममा गरिएको थियो, जहाँ बिहान ११ बजेबाट कार्यक्रम सुरु भएको थियो।
कार्यक्रममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका जिल्ला अध्यक्षहरू तथा सदस्यहरूले आ-आफ्ना जिल्लाका समस्या, आन्दोलनको अवस्था तथा शिक्षकहरूको मनोबलबारे आफ्ना धारणा राखेका थिए। सहभागीहरूले एक स्वरमा राहत शिक्षकहरूलाई स्थायीत्व प्रदान गर्न र उनीहरूको अधिकार सुनिश्चित गर्न प्रदेश र संघ सरकारसँग माग गर्ने प्रतिबद्धता जनाए।
बैठकको अन्त्यमा, शिक्षकहरूलाई संगठित बनाउने, संयुक्त दबाब सिर्जना गर्ने र आवश्यक परेमा पुनः आन्दोलनमा उत्रने निर्णयसमेत गरिएको छ।
