धनुषाको दुहबीमा तस्करी नियन्त्रणको प्रयासमा सशस्त्र प्रहरीले चलायो गोली

महोत्तरी टुडे     

धनुषा, २०८२ साउन २१ गते -

धनुषा जिल्लाको विदेह नगरपालिका–२ अन्तर्गत पर्ने दुहबी बोर्डर क्षेत्रमा सशस्त्र प्रहरीले बुधबार साँझ दुई राउन्ड हवाई फायर गरेको छ।

 

सशस्त्र प्रहरी बल (एपीएफ) का अनुसार, भारतबाट अवैध रूपमा सामग्री भित्र्याउने प्रयास भइरहेको सूचना पाएपछि तस्करी नियन्त्रणका लागि प्रहरीको टोली परिचालन गरिएको थियो। साँझ करिब ८ बजे, नेपाल–भारत सीमास्थित दसगजा क्षेत्रमा तस्करी गतिविधि भइरहेकाे जानकारीपछि प्रहरीको निगरानी थप कडा बनाइएको थियो।

 

स्थानीय स्रोतअनुसार, तस्कर समूह र सुरक्षाकर्मीबीच केही बेर विवादजन्य अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हवाई फायर गर्न बाध्य भएको हो।

सशस्त्र प्रहरीले मानव क्षति नभएको पुष्टि गर्दै, गोली सिर्फ चेतावनीस्वरूप चलाइएको बताएको छ।

 

एपीएफ स्रोतले बतायो, “तस्करी गतिविधिमा संलग्न समूह भाग्न सफल भए पनि सुरक्षा निगरानीलाई थप कडा बनाइएको छ र सीमावर्ती क्षेत्रमा नियमित गस्ती र चेकजाँच बढाइएको छ।”

 

यस प्रकारको घटना सीमावर्ती क्षेत्रमा तस्करीका गतिविधिहरू अझै सक्रिय रहेको संकेत हो। यस्ता गतिविधिहरू नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई अझ थप सशक्त बनाउनुपर्ने स्थानीयको माग रहेको छ।