दोहा–कतारमा प्रवासी कुशवाहा कल्याण समाजद्वारा लवकुश जयन्ती तथा तेस्रो अधिवेशन हुने

महोत्तरी टुडे     

आशिक हुसैन शेख दोहा, कतार — प्रवासी नेपालीहरुको साझा संस्था प्रवासी कुशवाहा कल्याण समाज, दोहा–कतारले लवकुश जयन्ती तथा तेस्रो अधिवेशन–२०२५ भव्य रूपमा आयोजना गर्न लागेको छ।

 

उक्त कार्यक्रम यही आगामी शुक्रबार, २०८२ साउन २३ गते (August 08, 2025) का दिन ग्राण्ड मलस्थित लालीगुराँस रेस्टुरेन्टको सभाहलमा हुने संस्थाका अध्यक्षले जानकारी दिएको छ।

 

संस्थाका महासचिव (मनोज कुमार महतो)का अनुसार, उक्त अधिवेशनमार्फत संस्थाको आगामी कार्यकालको लागि नेतृत्व चयन गरिनेछ भने, लवकुश जयन्तीको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम, सम्मान तथा सम्बोधन कार्यक्रमहरू समेत समावेश गरिनेछ।

 

कार्यक्रममा दोहा तथा आसपासका विभिन्न क्षेत्रबाट सामाजिक अभियन्ता, बुद्धिजीवी, पत्रकार, महिलाहरू, युवाहरू र अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

 

लवकुश जयन्ती नेपाली कुशवाहा समाजको गौरवशाली इतिहास र संस्कृतिको प्रतीकका रूपमा हरेक वर्ष मनाइने गरिन्छ। यसै सन्दर्भमा, विदेशमा रहेर पनि आफ्नो संस्कृति, परम्परा र एकताको सन्देश फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।

 

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरूका साथ–साथै अतिथिहरूद्वारा शुभकामना मन्तव्य, समाजका प्रगति विवरण तथा भावी योजना सार्वजनिक गरिनेछ।

 

प्रवासी कुशवाहा कल्याण समाज कतारले विगत केही वर्षदेखि सामाजिक एकता, सहयोग र संस्कृतिको संरक्षणमा उल्लेखनीय भूमिका निभाउँदै आएको छ।