महोत्तरीको मनरा नगर अस्पतालमा बिरामी कुरुवामाथि प्रहरीद्वारा कुटपिट, दोषीमाथि कारबाहीको माग
महोत्तरी, साउन २१ — महोत्तरी जिल्लाको मनरा नगरपालिकास्थित नगर अस्पताल परिसरमै बिरामी कुरुवा नागरिकमाथि प्रहरीले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। मोटरसाइकल दुर्घटनामा परेका सुबम साहको आफन्तलाई अस्पताल पुर्याउन गएका कुरुवा साहिललाई प्रहरीद्वारा कुटपिट गरिएको हो।
प्रत्यक्षदर्शीहरूका अनुसार, मनरा प्रहरी चौकीका जवान नागेन्द्र यादवले नगर प्रहरीको सहयोगमा साहिललाई नियन्त्रणमा लिएर अश्लील गाली गलौज गर्दै लाठी र बुटले अस्पताल परिसरमै कुटपिट गरेका थिए। घाइतेको अवस्थाबारे सोधखोज गर्दा साहिलले "सर, किन कुटपिट गर्नुभएको?" भनेर प्रश्न गरेका थिए, जसको जवाफमा यादवले थप आक्रोशित हुँदै शारीरिक आक्रमण गरेका हुन्।
स्थानीय स्रोतका अनुसार, सार्वजनिक स्थल र संवेदनशील अस्पताल परिसरमै सुरक्षाकर्मीबाट यस्तो दुर्व्यवहार हुनु अत्यन्तै निन्दनीय भएको भन्दै दोषी प्रहरी जवानमाथि कडा कारबाहीको माग गरिएको छ। तर, जिल्ला प्रहरी कार्यालय महोत्तरीका केही उच्च प्रहरी अधिकारीहरू उल्टै दोषीलाई जोगाउन सक्रिय रहेको आरोप लागेको छ।
स्रोतहरूका अनुसार, जवान नागेन्द्र यादव यसअघि पनि यस्तै विवादास्पद घटनामा मुछिँदै आएका छन्। तर, सधैं उच्च प्रहरीको संरक्षणका कारण उनी कारबाहीबाट जोगिंदै आएको स्थानीयको गुनासो छ।
घटनापछि "प्रहरीबाटै नागरिक असुरक्षित बन्न थालेको" गम्भीर प्रश्न उठेको छ। पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्दै, आवश्यकता परे प्रदेश प्रहरी कार्यालयमा उजुरी दिने तयारीमा रहेको जनाएको छ। रासस, पालिका खोज न्युज
