सप्तरीको राजगढमा प्रहरी र स्थानीयबीच झडप, गोली लागेर एकको मृत्यु

महोत्तरी टुडे     

राजविराज, साउन २१ — सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुरमा मंगलबार राति प्रहरी र स्थानीयबीच भएको झडपमा गोली लागेर एक जनाको ज्यान गएको छ।

 

तस्करी भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि स्थानीय बासिन्दाहरूले ढुंगा मुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र बल प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

 

प्रहरीद्वारा चलाइएको गोली लागेर ३६ वर्षीय लालु यादवको तिघ्रामा गम्भीर चोट पुगेको थियो। उनलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचारका लागि लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन्।

 

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार झडपमा एक जना प्रहरी जवान पनि घाइते भएका छन् भने तस्करीमा प्रयोग भइरहेको आशंकामा केही कार्टुन मदिरा नियन्त्रणमा लिइएको छ।

 

घटनापछि क्षेत्रको स्थिति अहिले शान्त रहेको प्रहरीको भनाइ छ भने अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।