खडेरीको बेला कमला नहरको पानीले किसानलाई राहत, प्रमुख यादवद्वारा निरीक्षण
राजेन्द्र महतो, सिरहा।
लामो समयदेखि वर्षा नहुँदा मधेश प्रदेशलाई सरकारले सुक्खा क्षेत्र घोषणा गरिसकेको छ। यस्तो विषम अवस्थामा धनुषाको पोर्तहा स्थित कमला सिँचाइ व्यवस्थापन कार्यालयले समयमा पानी आपूर्ति गरेर धनुषा र सिरहाका किसानहरूलाई ठूलो राहत दिएको छ।
कमला पश्चिमी (धनुषा) र पूर्वी (सिरहा) नहर प्रणालीमार्फत ९ असारदेखि नै कमला नदीको पानी प्रवाह सुरु गरिएको थियो। जसको फलस्वरूप सिरहा र धनुषाका किसानहरूले धान रोपाइँ धमाधम गरिरहेका छन्।
कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार, हाल पश्चिमी र पूर्वी नहरमा प्रतिसेकेन्ड १४ हजार–१४ हजार गरी कुल २८ हजार लिटर पानी आपूर्ति भइरहेको छ।
"पहिले प्रत्येक वर्ष १ साउनबाट मात्र पानी प्रवाह हुन्थ्यो, अब असारमै सुरु गरेका छौँ," यादवले भने, "यसले किसानलाई समयमा रोपाइँ गर्न, लागत घटाउन र उत्पादन बढाउन सहयोग पुगेको छ।"
सिँचाइको क्षेत्र विस्तार, लाभ पाउने किसानको संख्या बढ्दै
साविकमा दुवै नहरको सिँचाइ क्षमता साढे १२–१२ हजार गरी २५ हजार हेक्टर थियो। पछिल्लो समय साना पैनीहरूको विस्तारसँगै यो दायरा करिब ३० हजार हेक्टर पुगेको छ।
धनुषाका ६ नगरपालिका (गणेशमान चारनाथ, सबैला, शहीदनगर, कमला, विदेह, रहंसपुर) र २ गाउँपालिका (जनक नन्दनी, औहरी) तथा सिरहाका ५ नगरपालिका (कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा, सुखीपुर) र ३ गाउँपालिका (विष्णुपुर, औहरी, अर्नामा) मा सेवा विस्तार भइसकेको छ।
करिब २० हजारभन्दा बढी घरधुरी कमला सिँचाइ योजनाबाट प्रत्यक्ष लाभान्वित भएको प्रमुख यादवको दाबी छ।
सिँचाइमा अनियमितता रोक्न अपिल
हाल मधेश प्रदेशमा मात्र ३५ प्रतिशत क्षेत्रमै रोपाइँ भएको छ भने, कमला नहरद्वारा सिँचाइ हुने क्षेत्रमा ७० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको प्रमुख यादवले जानकारी दिए। आगामी १० दिनभित्र बाँकी क्षेत्रको रोपाइँ सम्पन्न हुने विश्वास पनि उनले व्यक्त गरे।
तर, कतिपय किसानहरूले संरचना बिगार्दै जबर्जस्ती पानी लगाउने प्रयास गरेकाले यादवले संयमित हुन आग्रह गरेका छन्।
"तातो पानी खेतबाट निकाल्ने र चिसो पानी लगाउने कार्य बन्द गर्नुपर्छ," उनले भने, "यसले पानीको वितरणमा असमानता ल्याउँछ।"
मैदानी निरीक्षण र समाधान प्रयास
पानी बाँडफाँडसम्बन्धी विवाद समाधानका लागि प्रमुख यादवले कर्जन्हा नगरपालिकाका मेयर भोला पोखरेल र स्थानीय कृषकहरूसँग फिल्ड निरीक्षण गरेका थिए। निरीक्षणपछि पुच्छारका किसानलाई पालो मिलाएर पानी दिने सहमति बनेको र अब त्यहाँ पनि चाँडै रोपाइँ हुने प्रमुख यादवको भनाइ छ।
कमला पश्चिमी नहर प्रणालीअन्तर्गत १४.३ किलोमिटर लामो मुख्य नहरबाट ४ शाखा (रधुनाथपुर, प्रवाह, महिनाथपुर, खजुरी) विस्तार भएका छन्। पूर्वी प्रणाली ३१.१ किलोमिटर लम्बाइको छ, जसबाट ८ शाखा (भोक्राहा, सिक्रोन, मझाउ, कल्याणपुर, सुकठोर, सिरहा, लगडीगोठ, औरही) सञ्चालनमा छन्।
७ सय किलोमिटरभन्दा लामो यो प्रणालीले धनुषा र सिरहाका ४० हजारभन्दा बढी किसानलाई प्रत्यक्ष रूपमा लाभ दिइरहेको छ।
