भारतबाट तस्करी गरी ल्याइएका २९ लाख रुपैयाँभन्दा बढीको सामग्री नियन्त्रणमा
नरेन्द्र – गौशाला, महोत्तरी ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ तस्करी गरी ल्याइँदै गरेको २९ लाख ८ हजार ६१५ रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिएको छ।
प्रहरीले विशेष सूचनाको आधारमा साउन १ गतेदेखि ११ गतेसम्म विभिन्न ठाउँबाट कपडा, केराउ, खाद्यान्न सामग्रीलगायतका तस्करीजन्य वस्तुहरूसहित चारवटा सवारी साधन समेत नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र कुमार भट्टका अनुसार नियन्त्रणमा लिइएका सबै सामग्री तथा सवारीसाधनहरू आवश्यक प्रक्रिया पूरा गरी जिल्ला भन्सार कार्यालय मलिवारमा बुझाइएको छ।
प्रहरीका अनुसार भारतसँग सीमा जोडिएको महोत्तरी जिल्लामा पछिल्लो समय तस्करीका घटनाहरू बढ्दै गएका छन्। यस्तो अवैध कारोबार रोकथामका लागि निरन्तर निगरानी र कारबाहीका कार्यक्रमहरू संचालन भइरहेको प्रहरीको भनाइ छ।
