एसीसी यू-१६ ईस्ट जोन कप विजेता नेपाली टोली राष्ट्रपतिबाट सम्मानित


महोत्तरी टुडे डेस्क: एसीसी यू-१६ ईस्ट जोन कप २०८१ को उपाधि जित्न सफल नेपाली यू-१६ राष्ट्रिय क्रिकेट टोलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले विशेष सम्मान गरेका छन्। राष्ट्रपतिले शीतल निवासमा आयोजित एक विशेष कार्यक्रममार्फत कप्तानसहित सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई सम्मानपत्र प्रदान गर्दै सफलताको शुभकामना दिएका हुन्।
कार्यक्रममा राष्ट्रपति पौडेलले युवा खेलाडीहरूको मेहनत, समर्पण र प्रदर्शनको प्रशंसा गर्दै राष्ट्रलाई गौरवान्वित बनाउने कार्यको लागि धन्यवाद व्यक्त गरे। उनले भने, “यस्ता सफलताले सम्पूर्ण देशमा आशा, प्रेरणा र सम्भावनाको नयाँ झिल्को देखाउँछ।”
नेपालले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्, क्रिकेट संघ नेपाल (CAN) का पदाधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।