हेल्प मधेशी मलेसिया जोहर दलानद्वारा पीडित परिवारलाई रु १५,०५१/- आर्थिक सहयोग
महोत्तरी टुडे डेस्क: आषाढ २३।
मधेस प्रदेशको सिराहा जिल्लाको गोलबजार नगरपालिका–९, डण्टा टोल निवासी शिव कुमारी महतोलाई हेल्प मधेशी मलेसिया जोहर दलानले रु १५,०५१/- आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
शिव कुमारी महतोका श्रीमान् मदन महतो कोइरीको २०८१ साल माघ १४ गते हृदयघातका कारण असामयिक निधन भएपछि परिवारमा आर्थिक संकट उत्पन्न भएको थियो। परिवारमा कमाउने कोही नभएकोले दैनिकी चलाउन समेत समस्या परेको कठिन अवस्थामा पीडित शिव कुमारीले मलेसियामा रहेका छिमेकी तथा "हेल्प मधेशी मलेसिया जोहर दलान" का उपाध्यक्ष हरिनारायण महतोसँग सहयोगको अपिल गरेकी थिइन्।
उक्त अपिललाई गम्भीरतापूर्वक लिँदै जोहर दलान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको संयुक्त निर्णयअनुसार सहयोग संकलन गरियो। संकलित सहयोग रकम "हेल्प मधेशी नेपाल" टिममार्फत २०७९ असार २१ गते शिव कुमारी महतोको घरमै पुगी औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा हेल्प मधेशी अन्तर्राष्ट्रिय समितिका सचिव विजय कुमार मण्डल, नेपाल अध्यक्ष राकेश राय, प्रथम उपाध्यक्ष संजय राना यादव, सहसचिव जमीर मंसुर, सदस्यहरू राम प्रकाश पासवान, बस्नेत राय, हेल्प मधेशी सिराहा अध्यक्ष राम अधार यादव, जिल्ला सचिव शर्वन महरा, धनुषा अध्यक्ष राजेन्द्र यादवलगायत स्थानिय युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहयोग प्राप्त गरेपछि शिव कुमारी अत्यन्तै भावुक हुँदै संस्थाका सम्पूर्ण प्रतिनिधिहरूप्रति आभार प्रकट गरिन्। स्थानीय नगरबासीहरूले संस्थाको सामाजिक उत्तरदायित्वको खुलेर प्रशंसा गर्दै "हेल्प मधेशी" संस्थालाई समाजको "आजको टप सामाजिक संस्था"को रूपमा सम्मानित गरेका छन्।
यस प्रकारको सहयोगले पीडित परिवारको तत्कालीन आर्थिक भार केही हदसम्म कम गर्नुका साथै समाजमा मानवता र सामाजिक उत्तरदायित्वप्रतिको विश्वास अझ बलियो बनाएको देखिन्छ।
