लोकतान्त्रिक पत्रकार संघ सक्रिय बन्दै, चार जिल्लामा संयोजक तोकिए
महोत्तरी - लोकतान्त्रिक पत्रकार संघ केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माको नेतृत्वमा संघको गतिविधि तीव्र रूपमा अघि बढिरहेको छ। पत्रकारका हक, अधिकार र पेशागत पहिचान सुदृढ बनाउने लक्ष्यसहित संघले हालै विभिन्न जिल्लामा संयोजक मनोनयन प्रक्रिया थालेको हो।
मधेस प्रदेशका चार जिल्लामा संघले संयोजक चयन गरिसकेको छ। बारा जिल्लामा विनोद प्रजापति, रौतहटमा राजु कुमार श्रीवास्तव, सर्लाहीमा राजिव कुमार साह र महोत्तरीमा राजिव राय कुर्मी संयोजकमा नियुक्त भएका छन्। संघका अनुसार यी संयोजकहरू अहिले संघको विस्तार र पत्रकार हितका गतिविधिमा क्रियाशील छन्।
संघका अध्यक्ष वर्माले बाँकी जिल्लाहरूमा पनि चाँडै संयोजक मनोनयन गरिने जानकारी दिएका छन्। उनका अनुसार यो विषयमा तयारी पूरा भइसकेको छ। उनले भने, “संघप्रति पत्रकारहरूको विश्वास र आकर्षण बढ्दो क्रममा छ, जुन हामीलाई अझै उर्जा दिन्छ।”
अध्यक्ष वर्माका अनुसार लोकतान्त्रिक पत्रकार संघले अन्य संगठनहरूभन्दा फरक पहिचान बनाउने रणनीति लिएको छ। “हामी प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र पत्रकारिता मर्यादाको रक्षा गर्न दृढ छौं,” उनले जोड दिए।
संघले निकट भविष्यमा पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा तथा सामाजिक उत्तरदायित्वका विषयमा विविध कार्यक्रम सञ्चालन गर्ने योजना पनि बनाएको छ। संघको लक्ष्य केन्द्रदेखि जिल्लासम्म सशक्त र प्रभावकारी उपस्थिति बनाउने रहेको छ।
