युद्धविराम सम्झौतामा तीन सर्त उल्लंघन भएको इरानको आरोप, अमेरिका माथि अविश्वास
काठमाडौं, चैत २६ — इरान ले अमेरिका सँग भएको युद्धविराम सम्झौतामा तीन सर्त उल्लंघन भएको आरोप लगाएको छ। साथै, लेबनान मा जारी आक्रमणप्रति पनि गम्भीर आपत्ति जनाएको छ।
इरानी संसद्का सभामुख मोहम्मद बागर गालिबाफ ले वार्ता सुरू हुनु अगावै १० बुँदे प्रस्तावका तीन सर्त उल्लंघन भएको बताएका छन्।
उनका अनुसार अमेरिकाले उक्त प्रस्तावलाई वार्ताको आधार मान्ने बताए पनि व्यवहारमा भने प्रतिबद्धता विपरीत कदम चालिएको छ।
‘अमेरिकाले आफ्नो प्रतिबद्धता पटक–पटक तोड्दै आएको छ,’ गालिबाफले भने, ‘यसपटक पनि पुरानै शैली दोहोरिएको देखिन्छ।’
बीबीसीका अनुसार लेबनानसँग सम्बन्धित युद्धविरामको पहिलो सर्त नै पालना नभएको जनाइएको छ। यसैबीच, पाकिस्तानको प्रधानमन्त्री शहबाज शरिफ ले सबै पक्षलाई तत्काल युद्धविराम गर्न आह्वान गरेका छन्।
इरानले आफ्नो हवाई सीमामा घुसपैठ भएको पनि जनाएको छ। फार्स प्रान्तको लार सहरमा एक ड्रोन खसालिएको र यसलाई हवाई सार्वभौमिकताको उल्लंघनका रूपमा लिइएको बताइएको छ।
त्यसैगरी, इरानलाई युरेनियम सम्वर्धन (एनरिचमेन्ट) को अधिकार नदिने विषय पनि प्रस्तावको उल्लंघन भएको दाबी गरिएको छ।
गालिबाफका अनुसार वार्ताअघि नै सर्तहरू तोडिएको अवस्थामा दुईपक्षीय वार्ता वा युद्धविराम कायम राख्नु तर्कसंगत नहुने बताएका छन्।
यसैबीच, पाकिस्तानले आगामी अप्रिल १० मा इस्लामाबाद मा अमेरिका र इरानबीच वार्ता गराउने प्रस्ताव अघि सारेको छ।
