मस्जिद आक्रमण र पवित्र कुरान जलाइएको घटनामा मुस्लिम समुदायद्वारा प्रशासनमा ज्ञापनपत्र

महोत्तरी टुडे     

महोत्तरी टुडे डेस्क,महोत्तरी ।

धनुषाको कमला नगरपालिका वडा नं. ६ सखुवा मनार गाउँमा मस्जिदमाथि भएको आक्रमण तथा पवित्र ग्रन्थ कुरान जलाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्सी गाउँपालिका क्षेत्रका मुस्लिम समुदायले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा ज्ञापनपत्र बुझाएका छन्।

IMG-20260105-WA0057.jpg

सहायक जिल्ला अधिकारीमार्फत औपचारिक रूपमा बुझाइएको उक्त ज्ञापनपत्र सम्सी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष अतिकुर रहमान, वडा नं. ६ का वडा अध्यक्ष शेख उमैदको नेतृत्वमा बुझाइएको हो। ज्ञापनपत्र बुझाउने क्रममा युवा नेता असलम शेख, मौलाना अनिसुल रहमान, युवा कफिल अहमद, तारिक इमाम, शेख शाह नवाज, मुस्ताक अहमद लगायत गाउँका बुद्धिजीवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रशासनको कारबाहीलाई सकारात्मक भन्दै विरोध कार्यक्रम स्थगित, शान्ति र सामाजिक सद्भाव कायम राख्न आग्रह

ज्ञापनपत्रमा धार्मिक स्थलमाथि आक्रमण र पवित्र ग्रन्थ जलाउने जस्ता घटनाले धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा गम्भीर असर पारेको उल्लेख गरिएको छ। घटनामा संलग्न दोषीहरूलाई कडा कानुनी कारबाही गर्न, पीडित समुदायको सुरक्षा सुनिश्चित गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न प्रशासनसँग माग गरिएको छ।

IMG-20260105-WA0056.jpg

जिल्ला प्रशासनले घटनामा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी गराएको छ। प्रशासनको यस कदमलाई सकारात्मक रूपमा लिँदै मुस्लिम समुदायले यसअघि प्रस्ताव गरिएको विरोध कार्यक्रम स्गथगित र्ने निर्णय गरेको जनाएको छ।

IMG-20260105-WA0084.jpg

समुदायका अगुवाहरूले आफ्नो उद्देश्य कुनै किसिमको टकराव सिर्जना गर्नु नभई न्याय, सुरक्षा र सामाजिक सद्भाव कायम गर्नु रहेको स्पष्ट पारेका छन्। कानुनी, शान्तिपूर्ण र संवादको माध्यमबाट समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाइ छ।

स्थानीय प्रशासनले पनि निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनअनुसार कारबाही हुने र शान्ति सुरक्षा कायम राख्न आवश्यक सबै उपाय अपनाइने प्रतिबद्धता जनाएको छ।

IMG-20260105-WA0085.jpg