कुवेतमा भारतीय प्रवासीद्वारा नयाँ वर्ष मनाउने क्रममा कानुन उल्लंघन १४ लाख जुर्माना २ बर्ष जेल
कुवेत- कुवेतमा रहेका केही भारतीय प्रवासीहरूले नयाँ वर्ष शालीन र जिम्मेवार ढंगले मनाएका भए पनि, एक समूहले भने मर्यादा र कानुन विपरीत गतिविधि गरेको कुवेती सञ्चारमाध्यमहरूले जनाएका छन्।
समाचारअनुसार कुवेतको अल–सुबिया मरुभूमि क्याम्पिङ क्षेत्रमा बसेका केही अविवाहित युवकहरूले नयाँ वर्षको अवसरमा क्रस–ड्रेसर (विपरीत लिङ्गको पहिरन लगाउने व्यक्ति) लाई बोलाई नाचगानसहित कार्यक्रम आयोजना गरेका थिए। उक्त गतिविधि कुवेती कानुन अनुसार गैरकानुनी मानिन्छ।
कुवेतको कानुनअनुसार सार्वजनिक वा निजी स्थानमा क्रस–ड्रेसिङ प्रतिबन्धित छ। यस प्रकारको गतिविधिमा संलग्न भएमा अधिकतम २ दुई वर्षसम्मको जेल सजाय र ५ हजार कुवेती दिनार, भारतीय रुपैयाँ १४ लाख ५० हजार जरिवाना हुन सक्ने प्रावधान छ।
यसअघि पनि कुवेतमा सार्वजनिक अश्लीलता, विपरीत लिङ्गको पहिरन, मेकअप लगाएर सार्वजनिक स्थलमा देखिने जस्ता घटनामा कडा कारबाही हुँदै आएको छ। अधिकारीहरूले मसाज पार्लरहरूमा छापा मार्दै अवैध सेवा र क्रस–ड्रेसिङमा संलग्न विदेशी नागरिकहरूलाई पक्राउ गर्ने गरेका छन्।
सन् २०२२ को अन्त्यतिर कुवेती अधिकारीहरूले क्रस–ड्रेसिङ र ट्रान्सजेन्डर व्यवहारविरुद्ध व्यापक अभियान चलाएका थिए, जसको क्रममा करिब ३ हजार जनालाई देश निकाला गरिएको थियो। पछिल्ला वर्षहरूमा यस्ता गतिविधि बढ्दै गएको भन्दै कलेज विद्यार्थीहरूबीच बहससमेत भएको थियो, जसपछि कडा नैतिक मापदण्ड पालन गराउन चेतनामूलक कार्यक्रमहरू लागू गरिएको थियो।
कुवेतसहित खाडी मुलुकहरूमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई त्यहाँको स्थानीय कानुन, सामाजिक मूल्य र संस्कृतिको सम्मान गर्दै जीवनयापन गर्न अधिकारीहरूले बारम्बार आग्रह गर्दै आएका छन्।
