हुण्डी गरे कारबाहीको जोखिम, नेपाली दूतावास रियादको स्पष्ट चेतावनी

महोत्तरी टुडे     

रियाद (साउदी अरब) । नेपाली दूतावास, रियाद–साउदी अरबले अनौपचारिक रूपमा विप्रेषणको कारोबार (हुण्डी) नगर्न तथा त्यस्ता गैरकानुनी आर्थिक गतिविधिमा संलग्न नहुन साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कडा आग्रह गरेको छ।

दूतावासद्वारा जारी सूचनामा नेपाल सरकारको सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी रोकथामसम्बन्धी नीति अनुरूप विदेशमा रहेका नेपालीहरूले गर्ने आर्थिक कारोबार पूर्ण रूपमा कानुनी र औपचारिक माध्यमबाट हुनुपर्ने उल्लेख गरिएको छ। विदेशमा रहँदै अनौपचारिक माध्यमबाट विप्रेषणको काम/कारोबार गर्ने, हुण्डी सञ्चालन गर्ने वा संकलित रकम नेपाल नपठाउने कार्य गैरकानुनी रहेको दूतावासले स्पष्ट पारेको छ।

सूचनामा भनिएको छ, साउदी अरबमा बसोबास गर्ने कुनै पनि व्यक्ति वा संस्थाले हुण्डीसँग सम्बन्धित कुनै किसिमको कारोबार नगर्न/नगराउन अनुरोध गरिन्छ। यस्ता गतिविधिमा संलग्न हुँदा सम्बन्धित देशका कानुनअनुसार कडा कारबाही, आर्थिक दण्ड, जेल सजाय तथा रोजगारी गुम्ने जोखिम समेत रहने दूतावासले चेतावनी दिएको छ।

दूतावासले थप स्पष्ट पार्दै यदि कसैले गैरकानुनी आर्थिक कारोबार (हुण्डी) गरिरहेको वा गराइरहेको पाइएमा, त्यस्ता व्यक्ति वा संस्थाको विवरण प्रमाणसहित दूतावासलाई उपलब्ध गराउन अनुरोध गरेको छ। यस्तो जानकारी दूतावासको आधिकारिक इमेल ठेगानामार्फत पठाउन सकिने जनाइएको छ।

📧 इमेल: [email protected]

दूतावासका अनुसार अवैध वित्तीय कारोबार न्यूनीकरण गर्न सहयोग गर्ने उद्देश्यले सूचना दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा कायम गरिने छ। यसले सूचना दिन चाहने नेपाली नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने विश्वास दूतावासले व्यक्त गरेको छ।

यसैगरी, दूतावासले विदेशमा रहेका नेपालीहरूले आफ्नो मेहनतबाट आर्जन गरेको रकम बैंक, मनी ट्रान्सफर कम्पनी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त औपचारिक माध्यमबाट मात्र नेपाल पठाउन आग्रह गरेको छ। यसो गर्दा व्यक्तिगत सुरक्षा, कानुनी संरक्षण र नेपालको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने दूतावासको भनाइ छ।

नेपाली दूतावास, रियादले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिक, सामाजिक संघ–संस्था तथा समुदायका अगुवालाई गैरकानुनी आर्थिक गतिविधि नियन्त्रणमा सहयोग गर्न समेत अपिल गरेको छ।

FB_IMG_1766313998069.jpg

उक्त सूचना नेपाली दूतावास, रियाद–साउदी अरबबाट मिति २०८२/०९/०२ (१७ डिसेम्बर २०२५) मा जारी गरिएको हो।