आईपीएलमा सबैभन्दा कम योगफल डिफेन्ड गर्दै कोलकातामाथि पञ्जाबको कीर्तिमानी जित ।


मोहाली —पहिला ब्याटिङ गरेको पन्जाब किंग्सलाई मंगलबार १६ ओभरभित्र १ सय ११ रनमा अलआउट गरेपछि कोलकाता नाइट राइडर्सले सपना देख्न सुरु गरिसकेको थियो । पन्जाबको स्कोर पन्छाउने हो भने कोलकाता इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्षस्थानमा पुग्यो ।
तर, त्यो कोलकाताका लागि सपना मात्र रह्यो । पन्जाबका युजभेन्द्र चाहल र मार्को यान्सेनको सानदार बलिङपछि कोलकाता मुल्लानपुरमा १५.१ ओभरमा ९५ रनमै अलआउट भयो । यो खेल आईपीएल इतिहासकै सानो स्कोर रक्षा गरेको खेलको कीर्तिमानमा दर्ज भयो ।
चाहलको ४ विकेटपछि कोलकाता १३ ओभरमा ७९–८ को स्थितिमा पुगिसकेको थियो । एन्ड्रे रसेलले १४ औं ओभरमा चाहललाई २ छक्का र १ चौका प्रहार गरेपछि कोलकातालाई जितनिम्ति ३६ बलमा १७ रन आवश्यक थियो । अर्सदीप सिंहले मेडन विकेट ओभर राख्नेक्रममा १५ औं ओभरको अन्तिम बलमा वैभव अरोरालाई विकेट पछाडि क्याच गराए । १६ औं ओभरको पहिलो बलमा यान्सेनले रसेललाई इनसाइड एजमा बोल्ड गर्दै पन्जाबलाई सनसनीपूर्ण विजय दिलाएका थिए ।